स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अफगानिस्तान र द काइट रनर

  त्यो एक युद्धभूमि हो। त्यहाँ अहोरात्र बम पड्किन्छन्, गोली बर्सिन्छन्। त्यो खुँखार आतंककारीको आश्रयस्थल हो। त्यहाँ सरकारले अफिम बेचेर राज्य चलाउँछ। वा सरकारी मान्छे अफिम बेचेको पैसाले बाँचेका छन्। मैले बुझेको अफगानिस्तान त्यही थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट चित्रित अफगानिस्तानले मेरो ´बुझाइ´ निर्माण गरेको थियो। मैले अफगानिस्तानलाई एउटा मरुभूमि जस्तो कल्पना गरेको रहेछु, जहाँ दाह्री पालेका डर लाग्दा मान्छे छातीमा गोलीको माला लगाएर, काँधमा ठूला बन्दुक बोकेर हिँड्छन्। र, मान्छेका मन पनि मरुभूमि जस्तै नै कल्पना गर्दोरहेछु म। त्यहाँका मान्छेभित्र पनि हामीमा जस्तै प्रेम, स्नेह, भावुकता र सहानुभूति हुन्छ भन्ने मलाई लाग्दो रहेनछ। अफगानहरू हिन्दी सिनेमामा देखिने ´गब्बरसिंह´को रूपमा मेरो मस्तिष्कमा छापिएका रहेछन्। मलाई के थाहा, अफगान त ´खालिद होसिनी´ पनि हुँदा रहेछन्।   मैले भर्खरै पढिसिद्ध्याएँ ´द काइट रनर´। पचासौं पटक घाँटीमा गाँठो पर्‍यो। बीसौं पटक परेला भिजे। र, दुईचारपटक कोठामा सँगै बसेका अरुबाट छलिएर रुमाल निकालेर गालामा कुदेका आँसु पुछेँ। अर्थात्, मुटु पगालेर आँखाबाट खसालिदियो अफगानहरूको त्यस कथाले। पढी सकेपछि पनि कथा टुङ्ग्याउन मन लागेन र कल्पनाका हाँगा हाल्दै गएँ। पुराणमा छोडिएकी राधालाई टिपेर धरावासीले गरेको ´लीला´ मलाई ´काइट रनर´ मा गरिदिन मन लाग्यो। अर्थात्, पढिसिद्ध्याएको निकै समयपछिसम्म म यही उपन्यासले मेरो मनमा निर्माण गरिदिएको छुट्टै दुनियाँमा अल्मलिइरहेँ। शैली नयाँ होइन। प्रस्तुति पनि प्रयोगवादी वा त्यस्तो केही विशेषण झुन्ड्याइरहनु पर्ने होइन। तर, समग्रमा उपन्यास सशक्त छ। मनमस्तिष्कमा कम्पन्न भरिदिन्छ। यस्तो शक्तिशाली कृतिका रचयिता हुन् खालिद होसिनी। उनी अफगान मूलका अमेरिकी हुन्।     अफगानिस्तानमै जन्मेका होसिनी सन् १९८१ देखि अमेरिकामा बसोबास गर्न थालेका रहेछन्। सन् ७० को दशकमा उनी अफगानिस्तानमै हुर्किंदै थिए। त्यस समयको अफ्गानिस्तान उनले आफैं भोगेका रहेछन्। सन् १९७९ मा रसियाली सेना अफगानिस्तान पसेर मच्चाएको वितण्डा पनि धेरथोर देखेकै रहेछन् उनले। देशमा बस्ने स्थिति नभएर अमेरिका पलायित अफ्गानहरूको अमेरिकी जीवनशैली राम्ररी नियालेका छन् खालिदले। आफैंले अनुभूत गरेका छन् विदेसिनुको पीडा। लगभग, १९६० देखि तालिवानीले शासन गरुन्जेलसम्मको अफगानिस्तानको सग्लो चित्र उतारेका छन् होसिनीले आफ्नो उपन्यास ´काइट रनर´मा। अफगान इतिहासलाई आख्यानमा यति सशक्त ढङ्गले बुन्न सक्ने होसिनी खुबीको आज संसारभर प्रशंसा भइरहेको छ। धरातलको यथार्थसँग अत्यन्तै नजिक रहेको उनको  कथा रुखा तथ्यांकको निरस संकलन होइन। न उडन्ते कल्पनाले भरिएको नक्कली भावुकताको फेहरिस्त नै हो। बरु यो उपन्यास ´तथ्य´ र ´आख्यान´ बीचको पातलो रेखामा जोखिमपूर्ण यात्रा गरेर गन्तव्य (पाठकको अन्तरहृदय)सम्म पुग्न सफल एक अब्बल कृति हो। खालिद होसिनीको कृति पढिसकेपछि केही समालोचकले भनेका रहेछन् – ´कुशल पत्रकारले बाहिर ल्याउन नसकेको अफगानिस्तानको वास्तविकतालाई दुनियाँसामु निर्धक्क उजागर गरिदिएका छन् होसिनीले आख्यान मार्फत।´     उपन्यास अफगान संस्कार, संस्कृति र जीवन शैलीका विविध रङ्गले पोतिएर साँच्चै सुन्दर बनेको छ। अफगानिस्तानको कुरुपता मात्र देखेका दुनियाँका धेरै मजस्ताले कतैकतै सिङ्गै अफगानिस्तान मगमगाएको महसूस गर्छन् उपन्यासमा। फारसी भाषाका मीठा कविताका कुरा, त्यहाँ मनाउने गरिएका चाड पर्वका रमाइला प्रसंग, चङ्गा उडाउने प्रतियोगिताको रौनक लगायत अन्य थुप्रै सांस्कृतिक घटनाले पाठकलाई रोमाञ्चित तुल्याउँछ। अफगानिस्तानमा भएका विभिन्न ऐतिहासिक, राजनीतिक घटनाक्रम र तीनले उपन्यासका पात्रलाई पारेका असरले त्यस देशको सामाजिक र आर्थिक स्थिति बुझ्न पाठकलाई सहयोग पुर्‍याउँछ। सन् १९७८ को कम्युनिष्ट विद्रोह, सोभियतसँगको ठाडो सैन्य हस्तक्षेप र अन्तर्राष्ट्रिय समर्थनप्राप्त कम्युनिष्ट विरोधी मुजाहिद्दिन विद्रोहले सर्वसाधारणका जीवनसँग गरेका अनेकौं खेलवाडसँगै अघि बढेको छ, दुई बालकको कथा। एकै परिवारभित्र दुई विपरित पहिचान बोकेर हुर्केका अमिर र हसनका कथामा परावर्तित भएको छ अफगानिस्तानको सामाजिक/राजनीतिक इतिहास। अमिर, पस्तुन समुदायको सुन्नी मुसलमान हुन्छ जो धनी छ र पढे लेखेको पनि। उसैसँग एउटै आँगनमा हुर्किन्छ हजरा समुदायको सिया मुसलमान हसन, जो अमिरको नोकर अलीको छोरो हुन्छ। सिया र सुन्नी मुसलमानबीच वर्षौंदेखिको काटाकाट हाम्रा लागि नयाँ कुरा होइन। त्यसमाथि हजरा समुदाय पस्तुनहरूका लागि अछुतझैं रहेछ। तर, पस्तुन अमिर र हजरा हसनका बीच प्रगाढ सम्बन्ध स्थापित हुन्छ।     यी दुईबीचको सम्बन्ध नै कथाको मुख्य विषयवस्तु हो। मानवीय गुण/अवगुणले सिर्जना गर्ने सम्बन्धका विविध आयामलाई प्रभावकारी ढङ्गले दर्शाइएको छ उपन्यासमा। कहिले न्यानो रहने र कहिले चिसिने मानवीय सम्बन्धका आरोहअवरोहले उपन्यासलाई केवल अफगानिस्तानमा सीमित राखेको छैन। विश्वका सबै मानिसबीच गुज्रिने मानवीय पहेली हामीले उपन्यास पढ्दा अनुभूत गछौं। त्यसैले मानव जीवन छर्लङ्ग देखाउनसक्ने सफा ऐना उभिएको छ ´काइट रनर´। अत्यन्त इमान्दार, तीक्ष्ण र मिलनसार पात्र हसन नै उपन्यासको मूल पात्र झैं लाग्छ, उपन्यास पढ्न शुरु गर्दा। तर, विस्तारै कथा त अमिरसँग मात्रै अघि बढ्दै जान्छ। यसो हुँदा पाठक असमञ्जसमा पनि पर्छन् उपन्यासको मध्य भागतिर। राम्रोसँग नियाल्दा मात्रै थाहा हुन्छ, अमिर त्यस्तो पात्र हो जो आफूभित्रै ठूलो द्वन्द्व बोकेर बाँचेको छ। ऊ धेरै विरोधाभाष लिएर दौडिरहेको हुन्छ। असल मान्छे बन्ने उसको चाहनामा उसैका नैतिक कमजोरी बाधा भइदिँदा ऊ जटिल पात्रका रूपमा विकसित भएको छ। हसनभन्दा अमिर नै आधुनिक मानिसको प्रतिविम्ब बढी हो, जोसँग कथा बन्ने धेरै सम्भावना हुन्छ। त्यसैले ऊ ´काइट रनर´को ´प्रोट्यागोनिस्ट´ हो।   उपन्यासको नाम आफैंमा अत्यन्त प्रतीकात्मक छ। चङ्गा (काइट) उडाउने प्रतियोगिता नगरी अफगानहरूको हिउँद बित्दो रहेनछ। प्रतियोगिता घमासान हुँदोरहेछ। जाडो याममा कठ्यांग्रिएका हातले चङ्गाको लट्टाई घुमाउँदा हात चिरिएर रगतपच्छे हुन्छ। अफगान सामाजिकतामा राजनीति त्यही लट्टाईँ भएको छ, जसले हत्केला चिरे जस्तो अफगानहरूलाई धेरै फ्याकमा चिरिदिएको छ। लट्टाईँ घुमाउने र धागो समाउने हात फरकफरक हुन्छन्। अर्थात्, पर बसेर धागो समाएर भिड्न हौस्याउनेलाई बाह्य शक्तिको प्रतीकका रुपमा बुझ्न सकिन्छ।     खालिद होसिनीको उपन्यास ´काइट रनर´ पढेपछि अफगानिस्तानलाई अझै खोज्न मन लाग्यो। र, यस सम्बन्धी थुप्रै जानकारी मैले इन्टरनेटबाट खोजेर निकालें। त्यही खोज्ने क्रममा मैले एक अफगानी उखान भेटें। उखान भन्छ – ´ तिमीलाई ऐनामा देखिएको आफ्नो प्रतिविम्ब मन परेन भने, ऐना होइन आफ्नै अनुहार फुटाइदेऊ।´ मेरा पाठकलाई यही उखान दोहोर्‍याउने धृष्टता गर्दै भन्छु, उपन्यासमा आफू कुरुप परावर्तित भइयो भने उपन्यासमा होइन आफैंमा शंका गर्ने कि? readerujjwal@gmail.com





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


पुस्तक - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ